मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

१३ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममा नयाँ तेलहन बाली पकेट विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गरिएको हो ।

बुधवार बिहान वडा नं २ को पौवाडाँडामा भएको कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता एवम् पौवाडाँडा कृषक समुहका अध्यक्ष धनकुमारी कमर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समुहमा आवद्ध रहेका कृषकहरूलाई मिनिटिलर, स्प्रेयर पम्प तथा सिंचाइका लागि पाईप वितरण गरिएको थियो ।

कार्यक्रम आफ्ना धारणा राख्दै प्रमुख अतिथि स्याङ्तानले भान्सामा सधैं प्रयोग हुने बजारमा पाईने खानेतेलको शुद्धता नभएका कारण मानव स्वास्थ्यमा असर गरिरहेको र विभिन्न रोगका सिकार हुन बाध्य भैरहेकाले शुद्ध तेल उत्पादनमा जोडिन आग्रह गर्नुभयो । कृषिमा प्रविधिको प्रयोगले लागत घट्ने हुँदा प्रविधिलाई भरपुर सदुपयोग गर्न उहाँले आग्रह गर्दै कार्यक्रमले आगामी दिनमा तेलहन बालीमा वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रविधि हस्तान्तरण कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन , मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्साल, नमूना तेलहन बाली पकेट समन्वय समिति मकवानपुरगढीका संयोजक गोविन्द प्रसाद तिमल्सिना, कृषि प्राविधिक निर्मला देवकोटा लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन समुहका जित बहादुर लामाले गर्नुभएको थियो ।

त्यसैगरी सोहि कार्यक्रम अन्तर्गत नै बुधबार वडा नं २ कुर्लेमा रहेको दलित विपन्न उत्थानशिल बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध कृषकहरूलाई पनि मिनिटिलर वितरण गरिएको छ । सहकारी संस्थाका अध्यक्ष एवम् नमूना तेलहन बाली पकेट समन्वय समितिका सदस्य सुर्जे बहादुर विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रविधि हस्तान्तरण कार्यक्रममा वडा नं २ का वडा सदस्य राम प्रसाद चौरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रविधि हस्तान्तरण कार्यक्रम नमूना तेलहन बाली पकेट समन्वय समिति मकवानपुरगढीको आयोजनामा सम्पन्न गरिएको हो ।

कृषि समाचार मुख्य समाचार विज्ञान प्रविधि समाज स्थानीय