विद्यालय स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा


मकवानपुर । हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ ।

सोमबारदेखि हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको सेमिफाईनलमा हेटौंडा ५ को सिद्धार्थ शिशु सदन माबि, हेटौंडा ७ को तासिर एकेडेमी, हेटौंडा ९ को माउन्ट एभरेष्ट एकेडेमी र हेटौंडाको रुसल एकेडेमी पुगेका हुन् ।

८ वटा बिद्यालय टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेलमा हेटौंडा ५ को सिद्धार्थ शिशु सदनले हेटौंडा १९ को शिक्षा विकास एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरि सेमिफाइनल प्रवेश गरेको हो । सिद्धार्थ शिशु सदनको जीतमा धमेन्द्र स्याङ्तानले निर्णायक एक गोल गरेका थिए ।


सोमबार नै भएको दोस्रो खेलमा हेटौंडा ७ को तासिर इंग्लिस सेकेण्डरी बोर्डिङ्ग स्कूलले हेटौंडा २ को बालजागृति सेकेण्डरी स्कुललाई २–० गोल अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो । तासिरको तर्फबाट एलेक्स आचार्यले २ गोल गरेका थिए ।

यस्तै, तेस्रो खेलमा हेटौंडा ९को  माउण्ट एभरेष्ट बोर्डिङ्ग हेटौंडा १२ को फेमकोल एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछिपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

यस्तै सोमबार नै भएको अन्तिम खेलमा रिलायन्स इंग्लिस बोर्डिङलाई १–० गोल अन्तरले पराजित गर्दै रुसल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन संघका अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षमा तथा बागमती प्रदेश सभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)कि केन्द्रिय महादिवेशन आयोजक समिती सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको हो ।

मंगलबारसम्म सञ्चालन हुने प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार बिहन ७ बजेदेखि संचालन हुनेछ ।

सेमिफाईनल सिद्धार्थ शिशुसदन माबि र तासिर एकेडेमी बिच हुनेछ भने अर्को सेमिफाइनल खेल माउण्ट एभरेस्ट एकेडेमी र रुसल एकेडमी बिच हुनेछ ।

सेमिफाइनल खेल पश्चात मंगलबार दिउँसो फाईनल खेल हुने अखिल क्रान्तिकारी मकवानपुरले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद१० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य बिजय गौतम, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन, नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ‘ज्वाला’ सदस्य बिवेक राई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, नेकपा माओवादी केन्द्र हेटौंडा नगर कमिटीका अध्यक्ष प्रदिप अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार