प्रमुख अतिथि बिना नै जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न,सहकारी नियमन प्राधिकरणको निर्देशन पालना

हेटौंडा- मकवानपुर जिल्ला सहकारी संघको २२ औं वार्षिक साधारणसभा बिहीबार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो ।

सरकारले स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम कार्यक्रमको उद्घाटन सत्र एवम् प्रमुख अतिथि बिना नै सहकारी संघले साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले आफ्ना धारणा राख्दै तिनै तहमा सहकारी नियमन प्राधिकरण समेतको सक्रियतामा आगामी दिनमा सहकारी ब्यवसाय सुशासन युक्त, मर्यादित र प्रविधिमैत्री हुने विश्वास लिएको बताउनुभएको छ ।


सरकारले सहकारी संघ/संस्था नियमनको लागि आवश्यक ऎन कानुनको संशोधनबाट राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरि सहकारीहरुलाई सुदृढ, ब्यवस्थित, विकास र प्रवर्द्धनको लागि अझ प्रभावकारी बनाउने भन्दै अग्रसरता लिएको उहाँले बताउनुभयो ।

साधारणसभाले अध्यक्ष देवकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी बर्षको नीति तथा कार्यक्रम, कोषाध्यक्ष बिमल कुमार ढकालले प्रस्तुत गरेको आर्थिक बर्ष २०८१/२०८२ को लेखा परीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक खेमराज सापकोटाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ ।


संघले बजार ब्यवसाय उप समिति गठन गरि उप समितिको निर्णय अनुसार मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघसंगको सहकार्यमा पशुआहार (गाई दाना) को ब्यवसाय शुरूवात समेत गरेको छ । दाना खरिद गरि ब्यवसायलाई टेवा पुर्‍याएको भन्दै संघले प्रथम, द्वितीय, तृतीय र सान्त्वना (३ वटा) समेत गरि कुल ६ वटा सहकारी संस्थाहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले नगद सहित प्रशंसापत्र प्रदान गरेको छ ।

 

पुरस्कृत हुनेमा क्रमशः हेटौंडा १७ मा रहेको चेतनशील दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा ६ मा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा ७ मा रहेकोे वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, मकवानपुरगढी २ मा रहेका महाकाली दुग्ध उत्पादक सहकारी संस्था र श्रमिक दुग्ध उत्पादक सहकारी संस्था र मनहरी सिम्पानीमा रहेको साना किसान कृषि सहकारी संस्था रहेका छन् ।

कार्यक्रममा प्रदेश सहकारी संघ लि. का सञ्चालक एवं जिल्ला बहुउद्देशीय सहकारी संघ लि मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कल्पना श्रेष्ठ, प्रदेश कृषि सहकारी संघ लि. का उपाध्यक्ष एवं सहकारी संघ लि. का सञ्चालक विमला कार्की, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि मकवानपुरका अध्यक्ष हरी प्रसाद कडेल, कृषि सहकारी संघ मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा, संघका पुर्व अध्यक्ष रामजी सापकोटा, सुजल फुड्स प्रा.लि.का सिनियर मेनेजर गजेन्द्रराज ओस्ती, लेखा समितिका संयोजक खेमराज सापकोटा उपाध्यक्ष मेनुका दहाल, कोषाध्यक्ष बिमल कुमार ढकाल लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन संघका सह–सचिव भोगेन्द्र लुईटेलले गर्नुभएको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) रोचक शिक्षा समाचार सहकारी