मकवानपुरगढी २ मा रहेको कुर्ले सहकारी मार्फत बजारीकरणको शुभारम्भ

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको आ.व.०७८/७९ को कृषि विकास कार्यक्रम तर्फ अनाज, तरकारी तथा फलफूल बजारीकरणमा प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत आज मिति २०७८ भाद्र ५ गतेका दिन एक कार्यक्रमका बीच कु्र्ले कृषि सहकारी संस्था लि. मकवानपुरगढी २ कुर्लेबाट तरकारी संकलन र बजारीकरणको शुभारम्भ भएको छ ।

सहकारी मार्फत अनाज खरिद बिक्रीको कार्य गत आ.व. ०७७/७८ बाटै शुरुवात गरिएकोमा चालु आ.व. ०७८/७९ मा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम शुरुवात गरिएको हो ।

सहकारी मार्फत बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी रु ४।- र तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी रु २।- का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष श्री कृष्ण प्रसाद हुमागाईको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, शेयर सदस्य र कृषकहरुको उपस्थिति रहेको थियो ।

गाउँपालिका भरिमा यस वर्ष अनाज, तरकारी तथा फलफुल बजारीकरणका लागि ७ वटा सहकारी संस्था सूचीकृत भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कृषि समाचार मुख्य समाचार