आगामी पौष महिना देखि दुधको मूल्य वृद्धि गर्ने सरकारको तयारी

२४ मंसिर २०७८ , हेटौंडा – सरकारले आगामी पौष महिना देखि दुधको मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दुग्ध मूल्य परिमार्जन अध्ययन समितिका संयोजक एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी उपनिर्देशक बाबुकाजी पन्तले सो कुरा बताउनु भएको हो ।

शुक्रवार हेटौंडामा सरोकारवालाहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै समितिका संयोजक पन्तले समितिले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा गएर सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरि सुझाव संकलन गरिरहेको बताउनु भएको छ । प्राप्त हुने सुझावका आधारमा छिट्टै प्रतिवेदन तयार गरि सरकारलाई बुझाउने पन्तले बताउनुभयो ।

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रीको निर्देशनमा बोर्डले पन्तको संयोजकत्वमा दुग्ध विकास संस्थानका महाप्रबन्धक , पशुसेवा विभागका उपनिर्देशक , पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि , केन्द्रिय दुग्ध सहकारी संघका प्रतिनिधि , केन्द्रिय पशुपन्छी पालक सहकारी संघका प्रतिनिधि , एनडिए र डिआईए का प्रतिनिधि , उपभोक्ता मंचका प्रतिनिधि र प्रादेशिक बोर्डका प्रतिनिधिहरु सदस्य रहने गरि १२ सदस्यीय दुग्ध मुल्य परिमार्जन अध्ययन समिति बनाएको थियो ।

मकवानपुर जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटा , नेपाल डेरी एशोसिएशन (NDA) का केन्द्रिय सदस्य पवन प्रसाद बास्तोला , संघका उपाध्यक्ष धर्मराज लामिछाने , ब्यवस्थापक कुमारमणी दाहाल , जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहाल लगायतकाको उपस्थिति रहेको थियो । सहभागीहरुले अन्य सामानको मुल्य अधिक बढ्दा पनि दुधको मूल्य नबढेको भन्दै तत्काल मूल्य वृद्धि हुनुपर्ने बताएका थिए ।

कृषि समाचार मुख्य समाचार रोचक