केन्द्रिय संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ऐक्यबद्धता

१७ माघ,हेटौंडा-  सरकारले दुधको मूल्य तत्काल वृद्धि नगरेकोमा आपत्ति जनाउँदै केन्द्रिय दुग्ध सहकारी संघले जारी गरेको प्रेस विज्ञप्ती प्रति मकवानपुर जिल्ला दुग्ध सहकारी संघको ऐक्यबद्धता जनाएको छ ।

मकवानपुर जिल्लाभर रहेका ५५ दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध १२ हजार कृषक परिवारले उत्पादन गरेको दैनिक करिब ४५ हजार लिटर दूध संकलन गरि हेटौंडा लगायत काठमाडौं , पोखरा , विराटनगर लगायतका शहरमा रहेका विभिन्न उद्योगहरुमा  उपलब्ध गराउँदै आएको छ । जसबाट दैनिक करिब २७ लाख रुपैयाँ हाराहारीमा शहरको पुँजी गाउँ पुर्याउँदैं आएको दुग्ध उत्पादक सहकारी संस्थाले गरिब विपन्न किसानहरुको आय आर्जनमा टेवा पुर्याउँदैं आएको र पछिल्लो समय युवाहरुको समेत आकर्षक रहेको दुग्ध उत्पादन पेशालाई संरक्षण र प्रवर्द्धन गर्दै देशलाई दुग्ध जन्य उत्पादनमा आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको पत्रमा उल्लेख गरिएको छ ।

करिब ३ वर्षदेखि कच्चा दुधको मूल्य वृद्धि नभएको तर पशुहरुलाई खुवाउने पराल,दाना,चोकर लगायत औषधिको मूल्य समेत अत्याधिक वृद्धि हुनु,कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु,पशुवस्तु अनुत्पादक रहनु,मिल्क होलिडे हुनु,कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनु जस्ता कारणहरुले दुध उत्पादक कृषकहरुमा पशुपालन गर्न नै नैराश्यता उत्पन्न भएको छ । जस कारण दुधमा आत्मनिर्भर हुने लक्ष्य पूरा नहुने लक्ष्यण देखा पर्न थालेका छन् । फलस्वरूप विदेशबाट करोडौंको कच्चा दूध तथा दुधजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । नेपालका डाँडापाखा , खेतबारी बाँझो बस्ने अनि विदेशबाट दूध खरिद गर्दा बार्षिक ठूलो धनराशि बाहिर जाने हुँदा देशको आर्थिक अवस्था थप जटिलता तर्फ धकेलिने निश्चित जस्तै छ पत्रमा भनिएको छ ।

केन्द्रिय दुग्ध सहकारी संघको गत असोज १४ गते बसेको बैठकले २०७८ कात्तिक १ गतेदेखि दुधको मूल्य वृद्धि गराई कृषकहरुलाई यो पेशामा टिकाउनको लागि सम्माननीय प्रधानमन्त्रीज्युमा अनुरोध भएपश्चात प्रधानमन्त्रीज्युबाट कृषि तथा पशुपन्छी मन्त्रालयमा दुधको मूल्य वृद्धिबारे यथाशीघ्र कार्य अगाडि बढाउन निर्देशन भएको र कृषि तथा पशुपन्छी मन्त्रालयले पनि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत कृषकहरुको लागत मूल्य अध्ययन गरि प्रतिवेदन पेश गर्न आव्हान भएपश्चात सरोकारवाला केन्द्रीय दुग्ध सहकारी संघ,प्राइभेट डेरी उद्योग,दुग्ध विकास संस्थान समेतले संयुक्त रुपमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न सिफारिस गरेकोमा हालसम्मपनि दुधको मूल्य वृद्धि नहुनु लाई यस संघ आपत्ती प्रकट गर्दछ ।

सो कारणबाट अब पनि कृषकहरुले उत्पादन गरेको दुधको मूल्य वृद्धि नहुने हो भने दुधमा आत्मनिर्भर हुने अवस्थाबाट बिमुख भइ विदेशबाट आयात गर्नुपर्ने र यो पेशा नै धराशायी हुने अवस्था देखिएको भन्दै कृषकहरु पुन: आन्दोलित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै मूल्य वृद्धि गराउनका लागि सबै जिल्ला दुग्ध सहकारी संघहरुबाट सरकारलाई कृषकहरुले उत्पादन गरेको दुधको मूल्य वृद्धि गराउन दबाब स्वरुप प्रेस विज्ञप्ति जारी गरिएको र पुन: तत्काल दुधको मूल्य वृद्धि नहुने अवस्था सृजना भए संघद्धारा विभिन्न आन्दोलनका कार्यक्रमहरु यथाशीघ्र घोषणा गरिने केन्द्रीय दुग्ध सहकारी संघद्वारा जारी गरिएको विज्ञप्ती प्रती यस संघ ऐक्यबद्धता प्रकट गर्दछ, संघका अध्यक्ष बासुदेव अधिकारीद्वारा जारी ऐक्यबद्धता पत्रमा उल्लेख गरिएको छ ।

कृषि समाचार मुख्य समाचार समाचार समाज सहकारी