मकवानपुरगढीमा रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शनी


  1. १ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाले आज आइतबार वडा नं ३ मक्रान्चुलीमा रैथाने बाली कोदो र फापरको परिकारको प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ ।

    गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा गत माघ २७ गते देखि २९ गतेसम्म रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम संचालन गरिएको थियो । सोही तालिममा सहभागीहरुले तयार पारेको परिकारको आज प्रदर्शनी गरिएको हो ।

    गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईँले कोदोबाट बनेको केक काटेर प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष हुमागाईँले गाउँमा उत्पादन हुने खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि यस्ता खाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

    स्वास्थ्यका दृष्टिकोणले पनि रैथाने बालीको निकै महत्त्व रहेको हुँदा किसानलाई त्यस्ता बालीको उत्पादन तर्फ आकर्षित गर्न प्रेरित गर्नुपर्ने अध्यक्ष हुमागाईको भनाई छ । उहाँले कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि हुने हुँदा गाउँपालिकाले त्यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउने र कृषि तथा पर्यटनको विकासमा काम गरिरहेको बताउनुभयो ।

    तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिंजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ थरिका परिकार बनाउन सिकाइएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । उहाँले गाउँपालिकाका करिब तीन सय हेक्टर जमिनमा कोदो उत्पादन हुने र विशेष गरी वडा नम्बर ४ कोदोको लागि पकेट क्षेत्र रहेको बताउनुभयो ।

    ३ दिनसम्म संचालन गरिएको परिकार बनाउने तालिममा नेपाल कृषि अनुसन्धान परिषद्का खाद्य प्राविधिक प्रवीण ओझाले तालिमको सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका सबै वडाका होटेल, होमस्टे, खाजा घरका सञ्चालक र कृषि प्राविधिकहरूको तालिममा सहभागिता रहेको थियो ।

    परिकार प्रदर्शनीमा वडा नं ४ का वडाध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडाध्यक्ष टिका प्रसाद दाहाल, पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी लगायतकाको उपस्थित रहेको थियो ।
कृषि समाचार मुख्य समाचार रोचक समाचार समाज