पदमै रहेर काम गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई अदालतको आदेश

२९ चैत्र,हेटौंडा- बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको बागमती प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिका बल्लब सापकोटालाई पदमै रहेर काम गर्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको छ ।

अदालतले अर्का उपाध्यक्ष नियुक्तीको प्रक्रिया पनि तत्कालका लागि रोक्न र सापकोटालाई पदमै रहेर काम गर्नका लागि अन्तरिम आदेश दिएको हो । अदालतका न्यायधिश चण्डीराज ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो । अदालतले बैशाख १२ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । मन्त्रालयले दुइपटक स्पष्टिकरण सोधेर सापकोटालाई हटाएको थियो ।

उपाध्यक्ष पदबाट सरकारले हटाएपछी उहाँले अदालतमा मुद्धा दायर गर्नु भएको थियो । पहिलेको एमालेको सरकारले नियुक्त गरेका पदहरुमा धमाधम हटाएर आफ्ना पार्टीकालाई नियुक्ती गर्ने अभियान अनुसार सापकोटालाई पनि हटाइएको पत्र दिइएको थियो। प्रदेश सरकारले राजनीतिक प्रतिशोधका कारण हटाइएकाले अदालत गएको उहाँ बताउनुहुन्छ । सापकोटाका पक्षबाट अधिबक्ताहरु धुर्ब प्रसाद चौलागाई र बालकृष्ण अधिकारीले बहस गर्नु भएको थियो ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाज