समाजवादीबाट मकवानपुरगढीको अध्यक्षमा जुटेन सहमति दुई दाहालको नाम सिफारिस,अरु सबै पदमा सर्वसम्मत

३ बैशाख,मक्रान्चुली- नेकपा एकीकृत समाजवादीले मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडा अध्यक्षहरुको नाम सिफारिस गरेको छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा एसमा अध्यक्षमा सर्वसम्मत नजुटेपछी दुई जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीका सल्लाहकार कृष्ण प्रसाद दाहाल र एकीकृत समाजवादी मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष अर्जुन प्रसाद दाहाल रहेका छन् ।

सिफारिस भएका दुवैजना दाहाल मकवानपुरगढी वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् । दुई दाहाल मध्ये कृष्ण प्रसाद दाहाल माओवादी पृष्ठभुमिका हुन् । उनी पछिल्लो समय माओवादीसँग असन्तुष्ट थिए । अर्का सिफारिस अर्जुन प्रसाद दाहाल कांग्रेस पृष्ठभुमि भएका ब्यक्ति हुन् । उनी नेपाली कांग्रेसको निर्वाचनमा मकवानपुरगढी गाउँ कार्य समितिको सभापति पदमा अर्का उमेदवार राजबिर मोक्तानसँग हार ब्यहोरेका थिए । त्यस लगत्तै उनी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

यसैगरी उपाध्यक्षमा वडा नम्बर २ निवासी फुलमाया पाख्रीनको नाम सर्वसम्मत सिफारिस गरिएको छ । समाजवादीले गाउँपालिकाको सबै वडाहरुमा वडा अध्यक्ष लगायत सदस्यहरु सर्वसम्मत चयन गरि सिफारिस गरेको छ । जसमध्ये वडा नम्बर ३ बाट रोमनाथ रेग्मी , वडा नम्बर ४ बाट जिवनराम तिमल्सिना , वडा नम्बर ५ बाट जितबहादुर थिङ , वडा नम्बर ८ बाट राजप्रकाश भण्डारी लगायत सिफारिस गरिएको छ ।

शुभ बिहानीसँगको कुराकानीका क्रममा गाउँपालिकाको अध्यक्ष पदका लागि आफू योग्य रहेकाले आफुले अध्यक्ष पदमा दाबी गरेको प्रत्यासी कृष्ण प्रसाद दाहालले बताएका छन् । यधपी गठबन्धनबाट निर्वाचनमा सहभागी हुने भएकोले आफुहरुले पाएको पदमा अहिले सिफारिस गरिएका ब्यक्तिबाट नै उमेदवार हुने उनले बताए ।

मुख्य समाचार राजनीति रोचक समाचार समाज स्थानीय