मकवानपुरगढीमा कृषि प्राविधिक क्षमता अभिवृद्वि तालिम


१४ बैशाख, मक्रान्चुली – मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषि प्राविधिकहरुको क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । यहि बैशाख १२ देखि १४ गतेसम्म मकवानपुरगढी गाउँपालिकाका हरेक वडामा कार्यरत कृषि प्राविधिकहरुको सहभागीतामा तालिम सम्पन्न भएको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नं. ६ बाग्दलीमा रहेको माटो परिक्षण प्रयोगशालामा संचालन गरिएको तालिममा विशेष गरि माटो विश्लेषण सम्बन्धी र समय सापेक्ष बालीविरुवामा लाग्ने रोगकीरा पहिचान, रोकथामका उपायहरु, वीउ उत्पादन प्रविधि, कार्यक्रम कार्यान्वयन, अनुगमन निरीक्षण, प्रतवेदन लेखन लगायतका विषयमा प्रशिक्षण दिइएको हो । तालिममा माटो विज्ञ श्री रामदुलार यादव र कृषि अधिकृत चन्द्रकान्त चौधरीले प्रशिक्षण दिइएको हो ।

बागमती प्रदेश सरकार, कृषि मन्त्रालयको सहयोगमा २०७६ सालमा स्थापना भएको माटो परिक्षण प्रयोगशाला निरन्तर संचालनमा रहेको छ । मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई माटो परिक्षण सेवा उपलब्ध गराउदै आईरहेकोमा अगामी वर्षदेखि अन्य पालिकाका कृषकहरुलाई समेत माटो परिक्षण सेवा उपलब्ध गराउने लक्ष्य रहेको छ साथै आवश्यकता अनुसार सोइल कीट बकस बाट माटो परिक्षण शिविर समेत संचालन गरिने कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो ।

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार स्थानीय