राप्रपा मकवानपुरगढीका हस्ती चौलागाईं र बिडारी एमाले प्रवेश


१८ बैशाख , हेटौंडा – मकवानपुरगढीमा राप्रपाका हस्ती मानिएका खिलप्रसाद चौलागाईं र कृष्णबहादुर बिडारी आज नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडाको हुप्राचौरमा आज भएको एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका ग्रहण गर्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका खिलप्रसाद चौलागाईं मकवानपुरगढीमा गत स्थानीय निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका थिए । सो निर्वाचनमा उनले ९ सय पचास मत प्राप्त गरेका थिए । उनी राप्रपा मकवानपुरका पुर्व सचीव समेत हुन । उनी राप्रपा मकवानपुरका उपाध्यक्ष थिए । त्यस्तै एमाले प्रवेश गर्ने अर्का कृष्णबहादुर बिडारी राप्रपा मकवानपुरगढीका वर्तमान अध्यक्ष हुन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्ष रहेका चौलागाईं आइतबार हेटौंडामा भएको आमसभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

चौलागाईं र विडारी सँगै मकवानपुरगढीका राप्रपाका अर्का कृष्ण बन्जारा लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् । बन्जरा २०७४ सालको स्थानीय निर्वाचनमा गढी वडा नम्बर ४ का वडा अध्यक्षका उमेदवार रहेका थिए। त्यसबेला उनी एमालेका उमेदवार रामप्रसाद तिमल्सिनासँग पराजित भएका थिए । बन्जरा अहिलेको निर्वाचनमा पनि वडा अध्यक्षको आकांक्षी थिए।

निर्वाचनको मुखैमा आएर राप्रपाका हस्तीहरु पार्टीमा प्रवेश हुँदा मकवानपुरगढीमा एमालेलाई राम्रै फाईदा पुग्ने देखिएको छ । त्यसो त मकवानपुरगढीमा नेता चौलागाईंलाई इमान्दार नेताका रुपमा लिने गरिएको छ । वडा नम्बर ३ मक्रान्चुलीमा निर्माण भएको फुटसलको योजना ल्याउनमा चौंलागाईको निकै महत्वपूर्ण भुमिका रहेको बताइएको छ ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई निर्वाचनमा एक्लै होमिएको एमालेसँग प्रतिस्पर्धा गर्न ‘फलामको चिउरा’ चपाए जस्तै भएको बेला चौलागाईं , बिडारी लगायतकाको एमाले प्रवेशले निकै अर्थ राख्ने नेताहरु बताउँछन् ।

मकवानपुरगढीमा राप्रपाका प्रभावशाली नेता चौलागाईं, विडारी, बञ्जारासहित दर्जनौं कार्यकर्ताले एमाले रोजेपछि नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका उम्मेदवारहरुलाई जितका लागि सहज हुने एमालेका नेताहरूले दावी गरेका छन् ।

आज एमाले प्रवेश गरेका चौलागाईंले कार्यक्रममा आफ्ना मन्तव्य राख्ने क्रममा जनहितको काम गर्ने पार्टी एमाले भएको भन्दै एमाले नै विकासको पहरेदार भएको बताए । पछिल्लो अवस्थामा राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । चौलागाईंले आफू सक्रिय रुपमा काम गर्नुपर्ने स्वभावको मान्छे रहेको भन्दै एमालेले दिने जिम्मेवारीलाई सहज रूपमा बहन गर्न आफू तयार रहेको बताएका छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार स्थानीय