मकवानपुरका भिमफेदी र इन्द्रसरोबर गाउँपालिकामा एमाले विजयी



२ जेठ,मक्रान्चुली- मकवानपुर जिल्लाको २ वटा गाउँपालिकामा एमालेले जित हाँसिल गरेको छ । मकवानपुरमा अन्तिम परिणाम सार्वजनिक भएका दुईवटा पालिका मध्ये दुबैमा एमालेले जितेको छ ।

भिमफेदी गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका हिदम लामा विजय भएका छन् । उनले पाँच दलीय गठबन्धन तर्फबाट माओवादीका अध्यक्षका उमेदवार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले ५ हजार ५९१ मत पाउँदा स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा भने एमालेकी पार्वती रानालाई पछि पार्दै गठबन्धन तर्फका कांग्रेसका उमेदवार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा १६ मतान्तरले राना पराजित भएकी हुन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा भिमफेदीको अध्यक्ष , उपाध्यक्षमा एमालेका लामा र राना विजयी भएका थिए ।

यसैबीच इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष , उपाध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उमाकुमारी लामा विजयी भएका छन् । अध्यक्षमा पुडासैनीले ३ हजार ७२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विश्वलाल लामाले ३ हजार ४७२ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा कांग्रेसकि निर्मला रुम्बाले ३ हजार ६५६ मत पाएकी हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस गाउँपालिकामा एमाले विजयी भएको थियो । ५ वटा वडा रहेको यस पालिकामा ३ वटा वडामा भने कांग्रेस विजयी भएको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति