मकवानपुरगढीमा सबैको चासो ३ नं वडामा,१४ सय मतगणनामा एमालेलाई अग्रता


२ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ को मतगणनालाई अहिले सबै राजनीतिक दलले निकै चासोका रुपमा हेरिरहेका छन् ।

एमालेको बलियो वडा मानिएको यस वडामा गत बैशाख ३० गते भएको निर्वाचनमा एमालेका विरुद्ध वडामा रहेका ४ राजनीतिक दलले गठबन्धन गरेर चुनावमा होमिएका छन् । यहाँ रहेका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र राप्रपाले एमालेसँग चुनाव लड्न गठबन्धन गरेका हुन् । त्यसैले पनि यस वडालाई निकै चासोका रुपमा हेरिएको छ ।

गठबन्धनका तर्फबाट वडा अध्यक्षका साझा उमेदवारका रुपमा नेकपा एकीकृत समाजवादी मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष अर्जुन प्रसाद दाहाल चुनावी मैदानमा छन् । यता एमालेको तर्फबाट भने निवर्तमान वडा अध्यक्ष भागवत घिमिरे पुनः वडाध्यक्षका उमेदवार रहेका छन् । नाताले गठबन्धनका उमेदवार दाहाल एमाले उमेदवार घिमिरेका आफ्नै भिनाजु हुन् । त्यसैले पनि यस वडा चर्चाको रुपमा रहेको छ ।

मकवानपुरगढीमा मत परिणामको नतिजा आउने क्रम जारी छ । प्राप्त नतिजा अनुसार हालसम्म वडा नम्बर १,२,७ र ८ मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलै विजयी भएको छ । भने वडा नम्बर ६ मा गठबन्धनका तर्फबाट वडा अध्यक्षका साझा उमेदवार कृष्ण बजगाई विजयी हुँदा गठबन्धनका अन्य सदस्यहरु भने एमालेका उमेदवारहरुसँग पराजित भएका छन् ।

यता वडा नम्बर ३ मा कुल खसेको १९ सय २६ मत मध्ये राति १०:४५ बजेसम्ममा १४ सय मतगणनाको परिणाम आएको छ । पछिल्लो मतगणना अनुसार वडा अध्यक्षमा एमालेका उमेदवार भागवत घिमिरे गठबन्धनका उमेदवार अर्जुन प्रसाद दाहाल भन्दा ५१ मतले अगाडी छन् ।

यस्तै ३ नम्बर वडामा १४ सय मत गन्दा गाउँपालिकाको अध्यक्षका उमेदवार एमालेका बिदुर हुमागाईलाई ७५५ मत प्राप्त हुँदा गठबन्धनका उमेदवार दोर्जे लामा स्याङ्तानले ५५२ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकि उमेदवार सन्तु थिङले ७४५ मत प्राप्त गर्दा गठबन्धनकि उमेदवार मानकुमारी पाख्रीनले ५१५ मत ल्याएकी छन् । अहिले मतगणना जारी रहेको छ ।

बागमती प्रदेश मुख्य समाचार राजनीति