एमालेको गढ मानिएको हेटौंडामा चुनावमा प्राप्त मतले तरङ्ग



३ जेठ, हेटौंडा- नेकपा एमालेको गढ मानिएको बागमती प्रदेशको मुकाम हेटौँडामा गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा हाल सम्म गरिएको मतगणनामा एमाले कमजोर देखिएको छ । हेटौंडामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी मिनाकुमारी लामाले अग्रता कायम राखेकी छन् ।

गठबन्धन पार्टीहरुको तर्फबाट नेकपा (एकीकृत समाजवादी)बाट मेयर उम्मेदवार बनेकी लामा र उपमेयर उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले अग्रता जोगाइराखेका छन् । २४ हजार १ सय ३८ मतगणना गर्दा लामाले ७ हजार ४ सय ९६ मत ल्याइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयर उम्मेदवार दिपक सिंह लामाको पछि–पछि छन् । सिंहसँग लामाको १ सय २२ मतान्तर रहेको छ ।

यस अघि भएका निर्वाचनहरुमा एमाले बाहेक अन्य पार्टी विजयी हुन नसकेको हेटौंडामा सिंहले अप्रत्याशित मत ल्याइरहेका छन् । उनले हालसम्म पाएको ७ हजार ३ सय ७१ मतले हेटौँडामा तरंग नै ल्याएको छ । गत निर्वाचनमा राप्रपाले कुल साढे ६ हजार मत ल्याएको थियो । हेटौँडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगर पनि हो । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेलाई सहयोग गर्दै आफ्ना नेता कार्यकर्ताहरुलाई सुर्य चिन्हमा मतदान गर्न भनेको थियो। तर, आफ्नै गढमा थापाको सहयोग पाउँदापनि एमाले तेस्रो स्थानमा छ ।

२४ हजार १ सय ३८ मतगणना गर्दा एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले ६ हजार २ सय ७३ प्राप्त गरेक छन् । अनन्तले मिनालाई भेट्टाउन अझै १ हजार २ सय २३ को फराकिलो मतान्तर छ । सिंह भन्दा पौडेल १ हजार ९८ मतान्तरमा छन् ।

हेटौँडाको उपमेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसका राजेश बानियाँले फराकिलो मतान्तरले निरन्तर अग्रता कायम गरिरहेका छन् । २४ हजार १ सय ३८ मतगणना गर्दा गठबन्धनबाट उपमेयर उम्मेदवार बानियाँले १० हजार ६ सय २३ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुमित्रा काफ्लेले ७ हजार ९२ मत मात्रै पाएकी छन् । मेयरमा राप्रपाका सिंहले लोकप्रिय मत ल्याइरहँदा उपमेयर पदकी उम्मेदवार इन्दिरा न्यौपानेले भने १ हजार ७ सय ८७ मत मात्र पाएकी छन् ।

बागमती प्रदेश मुख्य समाचार राजनीति