सहकारीको डेरी उद्योग संचालन गर्ने अन्तिम तयारी,उपकरणहरुको परिक्षण गरिदै


१८ साउन,मक्रान्चुली- मकवानपुरमा जिल्ला दुग्ध सहकारी संघले संचालन गर्न लागेको दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितीमा उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परिक्षण गरिएको छ । 
 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई प्रदेश सरकार,सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र सहकारीको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो । 

मकवानपुर जिल्लामा रहेका विभिन्न दुग्ध सहकारीहरुबाट संकलित दुधलाई विभिन्न परिकार बनाई बजारिकरण गर्ने उद्देश्य अनुरुप उद्योग सञ्चालन गर्न लागिएको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनुभएको छ । उद्योगबाट उत्पादित प्रशोधित दूध तथा दुग्ध पदार्थ मकवानपुर जिल्ला लगायत अन्य ठुला शहरमा समेत बिक्री गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

सहकारी संघमा आवद्ध रहेका मकवानपुरका ६० ओटा सहकारीमा संकलित दुधलाई अब कच्चा दुध मात्र नभई दुधका परिकारहरु पनि तयार पारी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । मकवानपुरमा सहकारीहरुबाट हाल दैनिक करिब ४० हजार लिटर दुध संकलन भइरहेको अधिकारीले बताउनु भएको छ ।

मंगलबार उद्योगमा खुवा, प्रशोधित दुध र दही तयार हुने मेशिनको परिक्षण गरिएको छ । उद्योगले आइसक्रिम, पनिर,घ्यु, बटर(नौनी),जिरा मोहीहरु पनि उत्पादन गरिने संघका व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो । 

करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रमको दुई चरण गरि  एक करोड ७१ लाख र सहकारी संघको करिब ३ करोड लगानी परेको व्यवस्थापक दाहालले बताउनु भएको छ । हामीले मेशिन परिक्षण गयौं केही मेशिन आउन बाकीँ छ दशैंको समय पारेर सबै वस्तु उत्पादन हुने गरि उद्योग पूर्ण रुपमा सञ्चालन गरिने ब्यवस्थापक दाहालले बताउनुभयो । एक सिफ्टमा १० हजार दुधको विभिन्न परिकार बनाउन सक्ने उद्योगको क्षमता रहेको बताइएको छ ।

बागमती प्रदेश मुख्य समाचार रोचक