रूपन्देही- २ मा गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज



२६ असोज- रुपन्देहीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ।

आयोगले मंगलबार राति सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैंया जरिवाना गरेको र जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज भएको आयोगको भनाई छ ।

गुरुङसहित नेकपाएकीकृत समाजबादीका वरिष्ठनेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले काठमाडौंको सूर्यबिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरुबिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल,  फुर्वा छिरिङ शेर्पा, सन्जिप राई र शक्तिमान डंगोल समेतले  दिएको चेक अनादर सम्बन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथि जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही २ हजार जरिवाना गरिनुका साथै  २ करोड २५ लाख रुपैंयाको चेक काटिएको मिति देखि २०७६ साउन ६गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानून बमोजिमको ब्याजसहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।

सो कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन  ३० गते २५ लाख, चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैशाख १५ गते २५ लाख, बैशाख ३० गते  ३० लाख, जेठ १५ गते ३५ लाख रुपैंया गरी ७ वटा चेक दिएकोमाबैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि  उनीहरु बिरुद्ध उजुरी परेको थियो।

कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल(डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।

सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई जितका लागि सहज बनेको छ ।

मुख्य समाचार लुम्बिनी प्रदेश समाज