मकवानपुरगढीमा शनिबार श्रीमती बोकेर दौडने प्रतियोगिता हुने,सम्पुर्ण तयारी पुरा



४ कार्तिक,मक्रान्चुली- मकवानपुरगढीमा हुने जोडी दौड (श्रीमान–श्रीमती) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा रहेको नव जागृत क्लवको आयोजनामा कार्तिक ५ गते अर्थात भोली शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ ।

क्लवले मकवानपुर जिल्लामा नै पहिलो पटक मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ स्थित धादिङ्गमा प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष रामकुमार खड्काले जानकारी दिनु भयो। नेपालीहरुको चाड दिपावली तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।

भाइचारा, सम्बन्ध, स्नेह र पारिवारिक सामिप्यता एंव सुखद दाम्पत्य जीवनको उद्देश्य लिई पालिका स्तरिय जोडी दौड प्रतियोगिता गर्न लागिएको उहाँले बताउनु भयो ।

प्रतियोगिताको लागि हालसम्म २९ जोडीले नाम दर्ता गराएका छन् । शनिबार सम्म ४० जोडीले नाम दर्ता गर्ने क्लवले अपेक्षा गरेका छन् । प्रतियोगिता शारदा माविको खेल मैदानमा हुने छ । एकसय मिटर दौड हुने प्रतियोगितामा श्रीमानले श्रीमती बोकेर दौडिनुपर्ने आयोजकले जनाएको छ । खेल शनिबार दिउँसो १ बजे हुने जनाइएको छ ।

प्रतियोगिता आयोजना गर्न करिब अनुमानित ८० हजार खर्च हुने बताएको छ । प्रतियोगितामा प्रथम हुने जोडीले नगद १० हजार पाउने छन् भने द्धितीय हुने जोडीले नगद ५ हजार , तृतीय हुने जोडीले नगद ३ हजार र सान्त्वना हुने जोडीले नगद २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

खेलकुद मुख्य समाचार रोचक स्थानीय