दिउँसो २ बजेसम्म मकवानपुरमा करिब ३५ प्रतिशत मत खस्यो

४ मंसिर,मक्रान्चुली- मकवानपुरमा करिब ३५ प्रतिशत मतदान भएको छ । बिहान ११ बजेसम्ममा करिब २८ प्रतिशत मतदान भएको अनुमान गरिएको थियो। तर दिउँसो २ बजेसम्म पनि ३५ प्रतिशत मात्र मत खसेको जनाइएको छ ।

बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलसँग केहिबेर अघि कुराकानी हुँदा उहाँले मकवानपुर जिल्लाभरमा करिब ३५ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ । स्थानीय तहको तुलनामा मतदानमा खासै उत्साह देखिएको छैन ।

बिहान ७ बजेबाट शुरु भएको मतदान अहिलेसम्म छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पोखरेलले बताउनुभयो ।

यसैबीच, हेटौँडामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज बिहान  हेटौँडा–१० बसपार्कमा रहेकाे नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने  अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका–८ बस्ने  अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने  वसन्त लामा रहेका छन् ।

उनीहरुलाई प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

बागमती प्रदेश मुख्य समाचार