मकवानपुरगढीमा सहकारी मार्फत कोदो खरिद शुरु,किसानले थप अनुदान पाउने

७ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न.४ कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले कृषकहरुबाट उत्पादित कोदो खरिद गर्न शुरु गरेको छ । बिहीबार पहिलो दिन १२ जना कृषकहरुबाट २८ सय केजी कोदो खरिद भएको संस्थाका कोषाध्यक्ष पदम बहादुर रुम्बाले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम तर्फ अनाज खरिद बिक्री कार्यमा प्रोत्साहन अनुदान उपलब्ध कार्यक्रम अनुसार कोदो खरिद कार्य शुरुवात गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले बताउनुभयो ।

गाउँपालिकाको अनाजमा अनुदान कार्यक्रम अनुसार कृषकहरुबाट सहकारी मार्फत कोदो खरिद गरेवापत पालिकाबाट प्रति केजी थप ४ रुपैया (कृषकलाई २ रुपैया र सहकारीलाई २ रुपैया) प्रोत्साहन अनुदान उपलब्ध गराईने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

खरिद गरिएको कोदोलाई पिठो बनाएर बिक्री गर्ने साथै माग भए अनुसार कोदोको दाना फलेर बिक्री गर्ने लक्ष्य रहेको सहकारीका सचिव कृष्ण बहादुर घलान (मुस्कान) ले बताउनुभएको छ ।

रैथानेबाली प्रवर्द्वन कार्यक्रम अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको सहयोगमा यसै वर्षदेखि कोदोको पिठो प्याकेजिङ र लेबलिङ गरि बजारमा बिक्रीको लागि पठाउने तयारी भैरहेको सचीव घलानले बताउनुभयो ।

अर्थ कृषि समाचार मुख्य समाचार सहकारी