२१ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्था लि. को बार्हौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
साधारणसभा कै अवसरमा संस्थाले नियमित बचतकर्ता तर्फ आईतीमाया डिमडुङ्ग , नियमित ऋण भुक्तानी तर्फ रेवती प्रसाद सुवेदी र असली कारोबारमा सुजिता पाख्रीनलाई प्रशंसापत्र सहित सम्मान गरेको छ ।
भेलाले संस्थाको तर्फबाट प्रस्तुत अध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति र आगामी कार्ययोजना सहितको प्रतिवेदन पारित गरेको छ । त्यसैगरी भेलाले ब्यवस्थापक सावित्री घिमिरेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ ।
साधारणसभामा गाउँपालिकाका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङको विशेष आतिथ्यता रहेको थियो भने हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका जानकी दहाल, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवम् संस्थाका सल्लाहकार अर्जुन प्रसाद दहाल, को-को मेन्ह्दो तामाङ समाजका अध्यक्ष विवेक पाख्रीन, संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार अनिरुद्र दहाल, निवर्तमान अध्यक्ष एवम् सल्लाहकार नवराज संजेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तत्कालीन मकवानपुरगढी गाविस वडा नं ५ को धमिले फाँटमा सिंचाइको लागी पानी अपुग भइ आलोपालो पानी लगाउन हेरालु राख्न परेको र सोहि क्रममा खेत धनीबाट उठेको पैसाबाट हेरालुलाई दिइ बचेको पैसाको सदुपयोग गर्ने उदेश्यले २०६८ साल भदौ २५ गते संस्थाको स्थापना भएको हो । हाल संस्थाको कार्यक्षेत्र मकवानपुरगढी गाउँपालिका भरी रहेको छ ।
विभिन्न निकायहरुको सहयोगमा संस्थाले आफ्ना सदस्यहरूलाई कृषिसँग सम्बन्धित मेसिनरी औजार, रासायनिक मल , बिउ , किटनाषक औषधि उपलब्ध गराउँदै आएको छ भने वचत तथा ऋणको कारोबार पनि गरिरहेको छ ।
सदस्यहरुलाई आर्थिक उपार्जनमा जोड्ने हेतुले संस्थाले आगामी वर्ष सामुहिक रुपमा ब्यवसायिक रुखकटहर खेतीको अवधारणा बनाएको र त्यसको सम्भाब्यता अध्ययन गरिने संस्थाका अध्यक्ष तिमल्सिनाले बताउनुभयो । संस्थाले यसै वर्ष विभिन्न निकायको सहयोगमा तेलमिल स्थापना गर्न लागेको अध्यक्ष तिमल्सिनाले बताएका छन ।