स्वर्गीय साइमन योन्जनको स्मृतिमा रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ आयोजना हुने, विजेतालाई १ लाख पुरस्कार

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ ।

बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिता मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले जानकारी दिनुभएको छ ।

गएको वर्ष असोज १२–१३ गते कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परेर ज्यान गुमाएका मकवानपुरगढी-४, कालिखोला निवासी स्व.साइमनको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताउनुभयो ।

प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ । कार्यक्रम संयोजक तथा समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ६५ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै अन्य बिधागत उत्कृष्ट खेलडीहरुलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।

संयोजक योन्जनले प्रतियोगिता मार्फत दिवंगत खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै मकवानपुरमा खेलकुदको विकासमा योगदान पुग्ने विश्वास रहेको बताउनु भएको छ ।

त्यस्तै, समिति सदस्य समेत रहेका स्वर्गीय साइमनका पिता हेम योन्जनले प्रतियोगिताले साइमनको स्मृतिलाई सुरक्षित राख्नुका साथै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्य बोकेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान र विकास गर्ने, खेलकुद गतिविधिलाई संस्थागत गर्दै समुदायमा अनुशासन, भाईचारो र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले रु. ५ हजार शुल्क बुझाउनुपर्नेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न पालिकाले रु ५ लाख प्रायोजन गरेको छ ।

खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज स्थानीय