प्राधिकरणको निर्देशन पालना गर्दै नमुना प्रगतिको २५ औँ वार्षिक साधारणसभा सम्पन्न


मकवानपुर- हेटौँडा उपमहानगरपालिका वडा नं २ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. को २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी निर्देशनको पूर्ण पालना गर्दै आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सहकारी नियमन प्राधिकरणले गत भदौ १७ गते बचत तथा ऋण सहकारीको साधारणसभालाई मितव्ययी र सदस्य केन्द्रित गर्न जारी गरेको ८ बुँदे निर्देशन बमोजिम संस्थाका शेयर सदस्यहरूको मात्र उपस्थितिमा साधारणसभा सम्पन्न गरेको अध्यक्ष मिठाराम दाहालले बताउनु भएको छ ।

साधारणसभामा पुरस्कृत हुने ज्येष्ठ शेयर सदस्य, असली बचतकर्ता, असली कारोवारी, उत्कृष्ट बाल बचतकर्ता, एसईईमा उत्कृष्ट अंक हासिल गर्ने , स्नातकमा उत्कृष्ट अंक हासिल गर्ने विधार्थी र उत्कृष्ट कर्मचारीलाई २०८३ बैशाख ३ गतेका दिन पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

प्राधिकरणले सम्बिन्धत सहकारीको सदस्य नभएको तथा नियमन निकायका कर्मचारी वा पदाधिकारीलाई साधारणसभामा सहभागी नगराउने, उद्घाटनसत्र, आसनग्रहण, मन्तव्यलगायतका औपचारिक समय व्यतीत गर्ने क्रियाकलाप नगरी सिधै साधारणसभाको एजेण्डामा प्रवेश गर्ने, अतिथि सत्कार, यातायात खर्चलगायतका फजुल खर्च नगर्न सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

सभामा संस्थाका सदस्यहरूले प्राधिकरणले जारी गरेको यातायात खर्च नदिन गरेको निर्देशनप्रति भने असहमति जनाएका थिए । साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन एवम् लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन गहन छलफलसहित विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ ।

संस्था अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तेजप्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा शेयर सदस्य अर्पण पराजुलीले सहकारी संस्था, शेयर सदस्य र सरोकारवालाहरुले गर्नु पर्ने कार्यहरुको बारेमा कार्यपत्र पेश गरेका थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको परिपत्र अनुसार साधारणसभामा अन्य सहकारी संस्थालाई आमन्त्रण नगरिएको ब्यवस्थापक बद्री भण्डारीले बताए ।

संस्थाको शेयर पूजी २ करोड ९१ लाख ९८ हजार, बचत/निक्षेप ३६ करोड ३३ लाख ४३ हजार, ऋण लगानी २९ करोड ५२ लाख ६४ हजार र जगेडा कोषमा ३ करोड ५० लाख रहेको छ । संस्थामा १ हजार १ सय ६८ पुरुष, १ हजार ४ सय ९६ महिला र संस्थागत ६ समेत गरि कुल २ हजार ६ सय ७० जना शेयर सदस्यहरु रहेका छन । संस्था अध्यक्ष दाहालको सभाध्यक्षतामा भएको साधारणसभामा संस्था सञ्चालक समित, लेखा समिति , शेयर सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news) समाचार सहकारी