हेटौंडाको सडक विस्तारमा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश, पौष २ गते पेशी

मकवानपुर- हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका विगतका मिसिल झिकाउने आदेश भएको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध हेटौंडाकी विन्दवासिनी कंसकार समेतले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको हो ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेसी तोकिएको छ । उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुने बताइएको छ ।

रास्वपा नेतृ एवम् पूर्वसांसद समेत रहेकी विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा सर्वोच्चले उत्प्रेषण आदेश गरेको थियो ।

तर सर्वोच्चले १९ गते शुक्रबार नै उत्प्रेषण आदेश जारी गरेको भएपनि लिखित जवाफ प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले पुर्व योजना अनुसार नै २० गते शनिबार बिहानैदेखि डोजरहरु प्रयोग गरी एक्कै दिन सडक क्षेत्रका ५३१ घर भत्काएको थियो ।

बागमती प्रदेश मुख्य समाचार मुख्य समाचार (flash news) समाचार