हेटौंडामा अब एक सय रुपैयाँमा नै खाना खान पाईने

हेटौँडा- बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको मुकाम हेटौंडामा अब एक सय रुपैयाँ मा नै खाना खान पाईने भएको छ । हेटौँडा–४, हुप्रचौरमा ‘भट्टी चुल्हो’ नामक होटलले बुधबारबाट एक सय रुपैयाँमै खाना खुवाउन सुरु गरेको छ ।

कोही भोको बस्न नपरोस्, आधारभूत भोजन सहुलियत दरमै प्राप्त हुने अवस्था रहोस् भन्ने सदाशयसहित हेटौँडामा एक सय रुपैयाँमै खाना खुवाउन सुरु गरिएको हो ।

हेटौँडाका व्यवसायी सिद्धिलाल श्रेष्ठले सहुलियतमा खाना खुवाउने परिकल्पना सहित युवा व्यवसायी अमृत श्रेष्ठ र प्रविण श्रेष्ठ दाजुभाइले भट्टी चुल्हो सञ्चालनमा ल्याउनुभएको हो ।

दैनिक बिहान ९ बजेदेखि १ बजेसम्म एक सय रुपैयाँमै सादा खाना खुवाउने गरी भट्टी चुल्हो सञ्चालनमा ल्याइएको व्यवसायी सिद्धिलाल श्रेष्ठले बताउनुभयो ।

करिब ३० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको होटलमा ७० जना सम्मलाई एकसाथ खाना खुवाउन सकिने व्यवस्था रहेको बताइएको छ । खाली रहेको १ कठ्ठा जमिनमा नयाँ संरचना निर्माण गरी भट्टी चुल्हो सञ्चालनमा ल्याइएको व्यवसायी श्रेष्ठले बताउनु भएको छ ।

अर्थ बागमती प्रदेश मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज