मकवानपुरगढी-३, मक्रान्चुलीमा अवस्थीत भानु माविले मनायो ४९ औं वार्षिकोत्सब

मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.–३, मक्राञ्चुलीमा अवस्थीत भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । शुक्रबार आफ्नै प्राङ्गणमा भब्य कार्यक्रमको आयोजना गर्दै विद्यालयले उत्सव मनाएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईंको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयले १ कक्षादेखि ६ सम्मको खेलकुद र महिला शिक्षिका भलिबल प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको थियो भने ७ कक्षादेखि १२ कक्षासम्मको खेलकुद र पुरुष शिक्षक भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले मङ्गलबार र बुधबार विद्यार्थीहरूका लागि विविध कार्यक्रमको आयोजना गरेको थियो ।

विद्यालयले सबै बाल विकास कक्षाका लागि चकलेट दौड, बोतलमा पानी भर्ने र लक्की नम्बर खेल सञ्चालन गरिएको थियो । १ कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरूलाई नेपाली हिज्जे र इन आउट खेल सञ्चालन गरिएको थियो ।

कक्षा ४ र ५ का विद्यार्थीका लागि नेपाली हिज्जे, म्युजिकल चेयर, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्याथीका लागि घैंटो फुटाई र चम्चा दौड, कक्षा–८ देखि कक्षा–१२ सम्मका लागि छात्रा भलिबल, छात्र फुट्सल र म्युजिकल चेयर सञ्चालन गरिएको थियो ।

यस्तै खुल्लातर्फ एक सय, दुई सय र चार सय मिटर छात्र÷छात्रा दौड सञ्चालन गरिएको थियो । दौडमा छात्रतर्फ शुकराज भोम्जन प्रथम, सम्राट चौलागाईं द्वितीय र रोजन बिक तृतीय भएका थिए त्यस्तै छात्रातर्फ सुनमाया रुम्बा प्रथम, सपना सुनार द्वितीय र सरस्वती अर्याल तृतीय भएकी थिइन् ।

बुद्धिचाल प्रतियोगितामा अनमोल दाहाल प्रथम, सिमन घोरासानी द्वितीय र प्रसिद्ध दङ्गाली तृतीय भएका छन् भने छात्रातर्फ रिदि सापकोटा प्रथम भएकी थिईन ।

त्यस्तै गायनमा सोनीमाया भोम्जन प्रथम, उज्ज्वल विक द्वितीय, सार्थक ल्वागुन र अनुष्का दाहाल तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सबैलाई मेडल सहित पुरस्क्रुत गरिएको थियो ।

वार्षिकोत्सब कै अवसरमा शिक्षकहरूका लागि मैत्रीपूर्ण महिला तथा पुरुष भलिबल प्रतियोगिता भएको थियो भने वार्षिकोत्सवको दिन शिक्षिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सब समापन कार्यक्रमका विद्यालयले विभिन्न संघसंस्था तथा बौद्धिक ब्यक्तित्वहरुलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक भौतिक लगायत विद्यालयको समग्र पक्षको सफलताको कामना गरेका थिए ।

विद्यालयले आगामी वर्ष स्थापनाको ५० औं वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी थालेको समेत जनाएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) शिक्षा समाचार