मकवानपुर जिल्ला दुग्ध सहकारी संघको साधारणसभा सम्पन्न


हेटौंडा- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको ३१ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ । संघद्वारा सञ्चालित दुग्ध उद्योग स्थल बुङदलमा भएको साधारणसभाले संघका अध्यक्ष हरिप्रसाद कडेलले प्रस्तुत गर्नुभएको आगामी नीति तथा कार्यक्रम सहितको वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक बीरबहादुर लामाले प्रस्तुत गर्नुभएको लेखा समिति प्रतिवेदन पास गरेको छ ।

त्यस्तै संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको यथार्थ आय ब्यय विवरणसहितको लेखापरीक्षण प्रतिवेदन तथा लेखापाल सन्तोष घिमिरेले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको यथार्थ आय ब्यय र चालु आर्थिक बर्षको लागि अनुमानित आय ब्यय विवरण भेलाले अनुमोदन गरेको छ ।

संघका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष कडेलले कृषकहरुले उत्पादन गरेका दुधको भुक्तानीमा नियमितता गराउनको लागि संघ क्रियाशिल भएको र भुक्तानीमा आएको समस्या समाधानतर्फ अगाडि बढेको बताए ।

साधारणसभाकै अवसरमा संघ मार्फत सबैभन्दा बढी दुध बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, चिसापानी, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–३, मक्रान्चुली र उज्वल दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–५ लाई क्रमशः नगद ११ हजार, १० हजार र ९ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

यसैगरी गुणस्तरीय दुग्ध बिक्री गर्ने मध्ये उत्कृष्ट भएका अमूल्य कृषि सहकारी संस्था लि. भीमफेदी-७ कोगटे, बाराही दुग्ध उत्पादक सहकारी संस्था लि.भीमफेदी-५ दमार र पाथीभरा दुग्ध उत्पादक सहकारी संस्था लि. बागमतीलाई क्रमशः नगद रु. ६ हजार, ५ हजार र ४ हजार सहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै संघद्वारा सञ्चालित दुग्ध उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थको धेरै बिक्री गर्ने चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, चिसापानी, किसान दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–१७, हटिया र नारायणी दुग्ध उत्पादक सहकारी संस्था लि. हेटौंडा–६, हत्तिलेटलाई क्रमशः नगद रु ६ हजार, ५ हजार र ४ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा महाकाली दुग्ध उत्पादक सहकारी संस्था लि. मकवानपुरगढी–२, बासपानीले संघबाट उत्पादित दुग्धजन्य पदार्थहरु मध्ये धेरै प्रकारका दुग्ध पदार्थ बिक्री गरी बजारीकरणमा बिशेष योगदान पुर्‍याए वापत विशेष पुरस्कार नगद रु ६ हजारसहित प्रशंशापत्रद्वारा सम्मान गरिएको थियो ।

साधारण सभाकै अवसरमा संघका पूर्व कर्मचारी बिदुर हुमागाई, उमेरहदका कारण सेवा निबृत्त हुनुभएका संघका निवर्तमान ब्यवस्थापक कुमारमणी दहाल, डेरी ब्वाई तोयानाथ पुडासैनी र सफाई कर्मचारी कान्छीमाया देउलालाई सम्मान गरिएको थियो ।

साधारण सभामा संघका सल्लाहकारहरु राष्ट्रिय सहकारी महासंघका वर्तमान संचालक सदस्य समेत रहनुभएका बद्रीप्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघका निवर्तमान अध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा , केन्द्रिय दुग्ध सहकारी संघका वर्तमान संचालक सदस्य विदुर हुमागाई, संघका पुर्व अध्यक्ष खिलप्रसाद चौलागाई, संघका निवर्तमान अध्यक्ष बासुदेब अधिकारीले सहकारी संघसस्थाहरु सहकारीको बिनियम र सहकारी ऐन नियम अनुसार सञ्चालन हुनुपर्ने भन्दै सहकारी सम्बन्धि वर्तमान सहकारी ऐन, नियमावलीका बारेमा जानकारी गराउनु भएको थियो ।

साधारणसभामा संघमा आबद्ध सहकारी संस्थाहरुका प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटाले स्वागत गर्नुभएको सो कार्यक्रमको संचालन संघका कर्मचारी गोविन्द प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । नेपाल सरकारले गठन गरेको सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन बमोजिम भेला सम्पन्न गरिएको संघले जनाएको छ ।

हाल संघमा ५६ वटा संहकारी संस्थाहरु आवद्ध रहेका छन् भने दैनिक करिव ६० हजार लिटर दुध विभिन्न सहकारीहरु मार्फत संकलन हुने गरेको संघका निमित्त ब्यवस्थापक दामोदर अधिकारीले बताउनु भएको छ ।

दुग्ध सहकारीहरुले संकलन गरेको दुध मध्ये दैनिक करिब ३ हजार लिटर दुध संघले आफ्नै उद्योगबाट विभिन्न दुग्धजन्य पदार्थहरु उत्पादन गरि उपभोक्ता सम्म पुर्‍याई रहेकोे छ भने बाँकी दुध संघको बिक्री ब्यवस्थापनमा बिभिन्न दुग्ध उद्योगहरुमा बिक्री गरिरहेको निमित्त ब्यवस्थापक अधिकारीले जानकारी दिनुभयो । संघले आफ्नै उद्योगबाट उत्पादन गरिएका दुग्धजन्य पदार्थहरु हेटौंडाको चौकिटोल, भैरवरोड र पशुपति मन्दिररोड काउन्टरबाट बिक्री ब्यवस्थापन गरिरहेको संघले जानकारी दिएको छ ।

(राजकुमार केसीको सहयोगमा)

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज सहकारी