सहकारी दिवसको तयारी पूरा,१८ देखि २० गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने


१७ चैत्र ,हेटौंडा – ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा मनाउन लागिएको प्रदेश स्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवस २०७८को तयारी पुरा भएको छ ।  चैत्र २० गते पर्ने सहकारी दिवस मनाउनको लागि भोलि १८ गतेदेखि २० गतेसम्मका विभिन्न कार्यक्रमहरु तय गरिएका छन् ।
जस अनुसार भोली १८ गते हेटौंडाको बुद्धचोकमा बिहान ७ बजे बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने १९ गते बिहान हेटौंडा अस्पतालमा उपचाररत विरामीलाई फलफुल वितरण गरिने कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भएको छ ।

यस्तै दिवसकै दिन बिहान साढे सात बजे हेटौंडाको भुटनदेवी माविको चौरबाट ¥याली निकालेर कान्तिलोकपथ , बुद्धचोक हुँदै रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण कार्यक्रम गरिने छ ।

सोही दिन साँझ ७ बजे प्रदेशभरका सहकारी संघ-संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरि दिवस मनाउने तयारी रहेको संयोजक देवकोटाले बताउनुभयो । राष्ट्रिय सहकारी दिवसलाई प्रदेश स्तरीय मुल समारोह समिति गठन गरि दिवस मनाउन लागिएको हो ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार रोचक सहकारी