दुग्धमा अनुदान वितरणका लागि गाउँपालिकाद्वारा प्रस्ताव आव्हान

२५ जेठ,मक्रान्चुली- सहकारीमा नियमित रुपमा दुग्ध बिक्री गरिरहेका दुग्ध उत्पादक कृषकहरुका लागि अनुदानमा सहभागी गराउन मकवानपुरगढीमा रहेका दुग्ध सहकारीहरुबाट गाउँपालिकाले प्रस्ताव आव्हान गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाको आव २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दुग्ध उत्पादनमा आधारित अनुदान कार्यविधि २०७६ को दफा १७ बमोजिम मापदण्ड पूरा गरेका गाउँपालिका भित्र रहेका इच्छुक दुग्ध उत्पादक सहकारी संस्थाहरु यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

अनुदान प्राप्त गर्नको लागि दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक कम्तीमा २०० लि दुग्ध संकलन गरेको साथै वार्षिक कम्तीमा २०० दिनसम्म दुग्धको कारोबार गरेको हुनुपर्ने जनाइएको छ ।

त्यस्तै कार्यक्रममा सहभागीता जनाउने संस्थाले नियमितरूपमा लेखापरीक्षण गरि वार्षिक साधारणसभा गरेको हुनुपर्नेछ । साथै संस्थाले स्थायी लेखा नम्बर (पान नम्बर) प्राप्त गर्नुका साथै कर चुक्ता गरेको हुनुपर्ने भनिएको छ ।

सहकारी संस्थाले संस्थागत रुपमा दुग्ध बिक्री गर्ने गरेको तथा दुग्धको गुणस्तर न्युनतम मापदण्ड भित्र परेको हुनुपर्ने सुचनामा जनाइएको छ । साथै अनुदान कार्यक्रममा सहभागी हुन विगतका वर्षहरुमा सहकारी संस्था कुनै किसिमको कारवाहीमा नपरेको र संस्थाले विगत १ वर्ष देखि नियमित दुग्धको कारोबार गरेको हुनुपर्ने बताइएको छ ।

विगत वर्ष देखि नै दुग्ध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले गाउँपालिकाले दुग्ध उत्पादन गरि सहकारी मार्फत दुग्धको कारोबार गर्ने कृषकलाई अनुदान दिने गरेको छ । जस अनुसार वार्षिक कारोबार भएको दुग्ध लिटरमा प्रति लिटर १ रुपैयाँ दरले सम्बन्धित सहकारी मार्फत अनुदान उपलब्ध गराउने ब्यवस्था गरिएको छ ।

कृषकले उत्पादन गरेको दुधमा मात्र नभै गाउँपालिकाले सुचिकृत भएका सहकारी मार्फत कारोबार भएका खाद्यान्न , तरकारीका साथै फलफुलमा समेत अनुदानको ब्यवस्था गरेको छ ।

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार समाचार समाज सहकारी स्थानीय