मकवानपुरगढीमा किसान कर्जा कार्ड प्रभावकारी

✍️ चन्द्रकान्त चौधरी
जेठ ३०,मक्रान्चुली
२०७९ जेठ २९ गते मकवानपुरगढी गाउँपालिका वडा न. ५ लिङ्गेडाँडाका कृषकहरुसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त भयो । यस डाँडामा ४० घरधुरी रहेको र सवै परिवार कृषि पेशामा पूर्ण आश्रित रहेका छन् ।

समुन्नती वनजन्य उत्पादन तथा विविधिकरण सहकारी संस्थाको समन्वयमा यहाँका १० जना कृषक परिवार नेपाल बंगलादेश बैंकबाट किसान कर्जा कार्ड लिई गाई खरिद बाख्रा खरिद र प्लाष्टिक टनेल बनाई काम गरिरहेका छन् ।

कार्ड लिएका कृषक तेलिमाया घलानले २ वटा गाई खरिद गरेको बताउनुभयो । गाईलाई घाँस हाल्दै भन्नुभयो पहिला एउटा गाई थियो दुईवटा गाई थपेर ३ वटा भयो । पहिले १ वटा गाई हुँदा दैनिक ८ लिटर दुध बिक्री गर्दै आईरहेकोमा अहिले दैनिक १८ लिटर दुध बेचिरहेको छु । यसले हामीलाई निकै फाइदा पुगेको छ ।

त्यस्तै अर्का कृषक प्रेममाया स्याङतानले २ वटा गाई र ११ वटा बाख्रा खरिद गरेका रहेछन् । उहाँले भन्नुभयो मसँग दुईवटा गाई पहिलै थियो सँगै बाख्रापाल्ने ईच्छा हुँदाहुँदै पुँजिको अभावले सकिएको थिईन। किसान कर्जा कार्डले ११ वटा बाख्रा र २ वटा गाई खरिद गरि ईच्छा पुरा भयो र गाईपालनको व्यवसाय पनि विस्तार भयो । यसले हामीलाई राम्रो भएको छ ।

यस क्षेत्रमा १० जनाले किसान कृषि कर्जा कार्ड प्राप्त गरि प्राय सवै कृषकले गाई खरिद गरेकोमा सहकारीमा दुध संकलनको मात्रा बढेको छ भन्दै वडा न. ५ का वडा सदस्य श्री सुकुराम थिङले यो कर्जा कार्ड प्रभावकारी लागेको र थप कृषकहरुले माग गरिरहेको बताउनुभयो ।

मकवानपुरगढीमा जम्मा ७२ जनाले कृषि कर्जा कार्ड लिएका छन् । जसमध्ये वडा नम्बर ३ मा ३३ जना , वडा नम्बर ५ मा ३० जना र वडा नम्बर ७ मा ९ जनाले कार्ड लिएका छन् । कर्जा कार्ड लिएका सबैले दुग्ध ब्यवसायका लागि गाई खरिद गरेका छन् ।
(लेखक चौधरी मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखा प्रमुखमा कार्यरत हुनुहुन्छ )

कृषि समाचार बागमती प्रदेश मुख्य समाचार रोचक समाचार समाज