मकवानपुरगढीमा रहेका दुई सहकारीद्वारा न्यूनतम समर्थन मूल्यमा धान खरिद

 

२४ पौष,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा बागमती प्रदेश सरकारले ल्याएको न्यूनतम समर्थन मूल्य कार्यान्वयन कार्यविधी, २०७९ बमोजिम नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद कार्य शुरुवात भएको छ । मकवानपुरगढी वडा नं ३ मा रहेको धमिले कृषि सहकारी संस्था र युथ भिजन बहुउद्देश्यीय सहकारी संस्थाले सरकारले तय गरेको न्युनतम समर्थन मुल्यमा किसानबाट धान खरिद गरेका हुन् ।

कृषि ज्ञान केन्द्र चितवनको बार्षिक कार्यक्रम अनुसार मकवानपुरगढी गाउँपालिकाका खरिदकर्ता सहकारी, उत्पादक कृषक समूह, सहकारी र कृषि ज्ञान केन्द्र चितवन वीच भएको त्रिपक्षीय सम्झौता बमोजिम एक कार्यक्रमका वीच धान खरिद कार्यको शुरुवात गरिएको हो ।

बागमती प्रदेशका पाँच वटा जिल्लाहरु चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा लागु भएकोमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक कार्यक्रम कार्यान्वयन भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँले यो नयाँ कार्यक्रम भएको र यसलाई प्रभावकारी रुपमा लागु गर्न सके उत्पादक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने समेत बताउनुभयो । साथै मकवानपुरगढी गाउँपालपकाले कार्यान्वयन गरेकोमा बधाई समेत दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकामा विगत २ वर्षदेखि गाउँपालिकाले न्यूनतम समर्थन मूल्यमा धान खरिदको व्यवस्था मिलाउनुको साथै कोदो र फापरको समेत मूल्य निर्धारण गरि खरिद व्यवस्था गरेको र अगामी दिनमा थप बालीहरुमा समेत यो कार्यक्रम लागु गरिने गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताउनुभयो ।

नेपाल सरकारले मोटा धान प्रती क्विन्टल उनान्तिस सय सत्सट्ठी र मध्यम धान एकतीस सय अठ्ठाईस रुपैया निर्धारण गरेको छ । सोहि मूल्यमा मकवानपुरगढी-३ मा रहेको धमिले कृषि सहकारी संस्थाले ७ हजार ६ सय ४५ केजी र युथ भिजन बहुउदेश्यीय सहकारी संस्थाले ६ हजार ७ सय केजी धान उत्पादक कृषकहरुबाट खरिद गरेको छ । सम्झौता एवम् कार्यविधिमा उल्लेख भए बमोजिम न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारी संस्थालाई प्रति केजी रु ५/- प्रोत्साहन अनुदान उपलब्ध गराईने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

धमिले कृषि सहकारी संस्थाका अध्यक्ष नवराज संञ्जेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा मकवाापुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपालीको प्रमुख आतिथ्यता र कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, ज्ञान केन्द्रका कृषि अर्थविज्ञ कमला न्यौपाने सहकारीका पदाधिकारी र उत्पादक कृषकहरुको उपस्थिति रहेको थियो ।

अर्थ कृषि समाचार मुख्य समाचार रोचक समाज सहकारी