सहकारी दिवसको अवसरमा आश्रमलाई खाद्यान्न तथा फलफूल सहयोग

१९ चैत्र,हेटौंडा- ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दिवस मूल समारोह समितिले आइतबार हेटौंडा ९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

चैत्र २० गते (भोलि) मनाउन लागिएको ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आश्रमलाई सहयोग गरिएको हो ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता तथा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा खाद्यान्न तथा फलफूल वितरण गरिएको छ ।

कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, जिल्ला बचत संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, जिल्ला दुग्ध संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, मानव सेवा आश्रमका अभिभावक प्रकाश पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक रामेश्वर अर्याल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इन्चार्ज ज्योती महत लगायत विभिन्न सहकारी अभियान्ताहरुको आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ र जिल्ला कृषि सहकारी संघको सहकार्य तथा मूल समारोह समितिको आयोजनामा भएको खाद्यान्न वितरण कार्यक्रमलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको छ ।

सहकारी दिवस कै अवसरमा शनिबार रक्तदान कार्यक्रम भएको थियो भने भोली सोमबार बृहत सहभागितामा बिहान ७ बजे भुटनदेबी माबिको चौरबाट प्रभातफेरी र्याली गरी पल्पसा हलमा पुगि सभामा परिणत भई समापन गरिने कार्यतालिका रहेको मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताउनुभयो । साथै सोमबार साँझ सहकारीहरुमा दिपावली गरि सहकारी दिवस समापन गरिने बताइएको छ ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाचार समाज सहकारी