२३ बैशाख , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाबाट गएको भ्रमण टोलिले नेपालको पहिलो सहकारी पश्चिम चितवनको शारदानगरमा रहेको श्री बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार अवलोकन भ्रमण गरेको छ ।
२०१३ साल चैत २० गते स्थापना भएको यो सहकारी संस्थाको दर्ता नम्बर १ रहेको छ । यो सहकारी संस्था नेपालका सहकारी संस्थाहरुको अभिभावकको रुपमा रहेको छ ।
बखानसिंह गुरूङको पहलमा स्थापना भएको बखान सहकारी संस्थाको स्थापना दिवसलाई हाल राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउँदै आइएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा रहेको यो सहकारी भरतपुरको चौविसकोठीबाट करीव १५ किलोमिटर पश्चिम गएपछि शारदानगर टाउनबाट फेरि ५ सय मिटर उत्तरतिर रहेको छ ।
संस्था स्थापनाको संक्षिप्त इतिहास :
अध्यक्ष भक्तबहादुर गुरुङले दिनुभएको जानकारी :
२०११ साल साउन ११ गते आएको बाढी र पहिरोबाट पीडित जनतालाई चितवनमा स्थापित गराउन बस्ती बसाउन सुरु गर्ने प्रायास स्वरूप पहाडका कुनाकुनाबाट जंगल फडानी गरेर बस्ने भनेर मानिसहरु आएका थिए । राप्ती दून परियोजनाले प्रतिपरिवार ५ विगाहा जग्गा दिने काम गर्यो भने, बखान सिंह गुरूङको पहलमा हलो, कुटो, कोदालो जस्ता कृषि औजारहरु दिने र सामूहिक रुपमा काम गर्ने प्रवन्ध मिलाइएको थियो । पछि धर्म भकारी (सामूहिकरुपमा उत्पादन जम्मा गर्ने र पछि बाँडिचुँडी प्रयोग गर्ने चलन) स्थापना भयो ।
सहकार्य गरेर काम गर्न सकिन्छ भने सहकारी किन स्थापना नगर्ने भनेर बखानसिंह गुरूङसहित ६० जनाबाट प्रतिव्यक्ति १० र मसकद (मसलन्द) खर्च भनेर १ रुपैयाँ थप गरी ११ रुपैयाँ हरेक महिना उठाउन थालियो । सुरुमा ६ सय रुपैयाँ कुल पुँजीबाट बखान सहकारी स्थापना भयो ।
बखानसिंहले नै सहकारीको अवधारणा ल्याएकोले सहकारीको नाम नै ‘बखान सहकारी संस्था’ राखियो । सुरुमा बखान सहकारी संस्था त्यसपछि शारदानगर साझा संस्था हुँदै पुनः बखान सहकारी संस्था भएर हाल ‘बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का नाममा संस्था सञ्चालित रहेको छ ।
चार बिगाहा क्षेत्रफल जग्गा रहेको सहकारीको आफ्नै तेलमिल रहेको छ भने मलखादको कारोबार पनि गर्दै आएको छ । नेपालमा नै पहिलो सहकारी संग्रहालय स्थापनाका लागि अत्याधुनिक भवन निर्माणको काम अन्तिम चरणमा रहेको अध्यक्ष गुरुङले बताउनु भयो ।
ब्यवसायिक तरकारी तथा केराखेतीको पनि अवलोकन :
भ्रमण टोलिले बखान सहकारीको अलावा ठुलो क्षेत्रफलमा ब्यवसायिक तरकारी तथा फलफुल खेती गर्दै आइरहेको भरतपुर-२४ नयाँबस्तीमा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था तथा भरतपुर-२३ मा लक्ष्मण सुवेदीले संचालन गर्नुभएको अमित कृषि मल्टी एग्रो फार्म को समेत अबलोकन गरेको छ । जहाँ ५५ बिगाहा जग्गामा ब्यवसायिक केरा खेती गरिएको छ ।
एकदिने अवलोकन भ्रमणमा धमिले कृषि सहकारी संस्थाका वर्तमान संचालक समिति , लेखा समिति , सल्लाहकार , विभिन्न उपसमितिको साथै निवर्तमान संचालक समिति लगायत कर्मचारी सहित २१ जनाको सहभागिता रहेको सो भ्रमण टोलीलाई मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले भ्रमणको सहजीकरण गर्नुभएको संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाले बताउनुभयो ।
संस्थाका सदस्यहरुलाई कृषि उत्पादनसँग जोडी आर्थिक समृद्धि तर्फ अघि बढाउन ब्यवसायिक योजना तथा उत्पादित सामाग्रीको बजारीकरणको ब्यवस्थापनका विषयमा भ्रमण निकै फलदायी र अर्थपूर्ण रहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । संस्थाको आर्थिक स्थितिलाई मध्यनजर गर्दै संस्थालाई कुनै आर्थिकभार नपर्ने गरी भ्रमणको ब्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।