बागमती प्रदेशको सर्वोत्कृष्ट महिला व्यवस्थापकमा यो वर्ष मकवानपुरकी दाहाल घोषित


श्रावण २६- मक्रान्चुली
मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल बागमती प्रदेश भरीका महिला ब्यवस्थापकहरुमा यसवर्ष उत्कृष्ट ब्यवस्थापक हुन सफल भएकी छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको छैठौँ स्थापना दिवसको अवसरमा दाहाललाई प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषणा गरिएको हो ।

संघले सार्वजनिक गरेको विवरण अनुसार, प्रदेशका १३ जिल्लाका विभिन्न सहकारी संस्थामा कार्यरत महिला व्यवस्थापकहरूमध्ये दाहाललाई सबैभन्दा उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गरिन लागेको बताईएको छ ।

उनको नेतृत्वमा संस्थाले तीनपटक नेपाल स्तरको प्रोवेशन ब्राण्ड (२०७५ देखि २०७७ सम्म) प्राप्त गरेको छ। साथै, जिल्ला बचत संघ मकवानपुरबाट उत्कृष्ट मिश्रित साकोस को रूपमा सम्मानित हुनुका साथै नेफ्स्कुनबाट सर्वोत्कृष्ट संस्था को उपाधि समेत पाएको छ। मकवानपुरगढी गाउँपालिकाबाट दुईपटक सर्वोत्कृष्ट सहकारी संस्था को सम्मान पनि यस संस्थाले पाइसकेको छ।

ब्यवस्थापक दाहालकै पहलमा संस्थाले महिला सदस्यहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, आर्थिक रूपमा कमजोर बाल सदस्यहरूलाई छात्रवृत्ति वितरण जस्ता सामाजिक कार्यक्रमहरू पनि संस्थाले गर्दै आएको छ ।

बागमती प्रदेश मुख्य समाचार मुख्य समाचार (flash news) रोचक शिक्षा समाचार समाज सहकारी