मक्रान्चुलीमा फल्न थाले ड्रागन फुट ,पहिलो लटको फल बृद्ध- बृद्धालाई

३० चैत्र,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,मक्रान्चुलीमा लगाइएको ड्रागन फुट फल्न थालेका छन् । ड्रागनमा फल लाग्न थालेपछी लम्साल परिवार अहिले खुशी भएका छन् ।

गाउँपालिका कार्यालय नजिकै घर भएका केदार लम्सालले करिब १० कठ्ठा जमिनमा २ वर्ष अघि लगाएको ड्रागन फुटमा अहिले धमाधम फल लाग्न थालेका छन् । लम्सालले ३ सय पोलमा १२ सय बिरुवा लगाएका छन् ।



कृषि ज्ञान केन्द्र चितवनले भारतको दिल्लीबाट विरुवा उपलब्ध गराएको हो । ड्रागन खेतीमा २४ लाख खर्च भएको र त्यसको पचास प्रतिशत अनुदान ज्ञान केन्द्रबाट सहयोग भएको लम्सालले बताए ।

विरुवामा सुख्खा समयमा सिंचाइको समस्या भएको भन्दै लम्सालले थोपा सिंचाइ प्रविधिमा सिंचाइ गर्ने योजना बनाएका छन् । अहिले ४ सय विरुवा नर्सरी गरेर राखेको भन्दै लम्सालले आवश्यक पर्नेले सम्पर्क राख्न समेत अनुरोध गरेका छन् ।



समाचार संकलनका लागि हामी त्यहाँ पुग्दा लसालका छोरा प्रमोद खेतीको हेरचाह मै ब्यस्त थिए । आउँदो जेठ महिनासम्म धेरै विरुवामा फल लाग्ने र असारदेखि फल खानको लागि तयार हुने उनी बताउँछन् । फलेको पहिलो लटको फल गाउँका वृद्ध अवस्थामा पुगेका बा-आमालाई खुवाउने उनको धोको छ । तर जंगली जनावर (बाँदर लगायत ) बाट फलेको फल कसरी जोगाउने भन्ने उनलाई चिन्ता छ ।

बिरुवा रोपेको खाली ठाउँमा खुर्सानी , तुलसी लगाएतको खेती गर्न सके थप आम्दानी गर्न सकिने उनको अनुमान छ । ड्रागनको टुप्पोको तरकारी असाध्यै मीठो हुने हुँदा तरकारीको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने उनी बताउँछन् ।



लम्साल परिवार मात्र हैन मकवानपुरगढीका अन्य वडाहरुमा समेत अहिले ड्रागनको खेती गर्न थालिएको छ । ड्रागन खेती गर्नेहरुको एउटा समुहनै बनेको छ । त्यस समुहका अध्यक्ष अहिले वडा नम्बर ५ का नवराज हुमागाई छन् ।

२ वर्ष अघि वडा नम्बर ३ देविडाँडामा रहेको धमिले कृषि सहकारीले ड्रागनको सामुहिक खेती गर्ने योजना बनाएको थियो । तर विविध कारणले सहकारी द्वारा यसको खेती गर्न नसकिएको संस्थाका अध्यक्ष नवराज संजेलले बताए ।



पालिका भरिमा अहिले करिब ७ हजार विरुवाको खेती रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउनु हुन्छ । किसानहरूलाई आवश्यक पर्ने प्राविधिक सहयोग पालिकाबाट प्राप्त हुने कृषि प्रमुख चौधरीले बताउनु भएको छ ।

अर्थ कृषि समाचार बागमती प्रदेश मुख्य समाचार रोचक समाचार समाज स्थानीय